बिहान सबेरै उठ्नु पर्छ, पाँच बजेको हाराहारीमा। त्यति नगरे काममा समयमा पुगिन्न। समय घर्केपछि काममा जान अनुपम कत्ति पनि राम्रो लाग्दैन। ऊ ठान्छ, त्यसो गर्नु भनेको ठगेर खानु हो। ठगेर खानु र चोर्नुमा के अन्तर छ? ऊ त्यो अन्तर हेर्ने प्रयत्न गर्छ। एक हिसाबले ती दुवै उस्तै कुरा हुन्, नामका मात्र फरक। ऊ त्यस्तै ठान्छ। त्यसलाई त्यस्ता कुराहरू पटक्कै मन पर्दैनन्। त्यसैले अलिकति चाँडै उठ्नु परे पनि उसलाई त्यो कुराले कुनै असर गर्दैन। आधा घन्टामा त ऊ फ्रेस भैसक्छ। उसले लुगा लगाइ सक्तानसक्तै शुभेक्षा उसको टेबुलमा एक कप तातो चिया राखिदिन्छे। हुन त ऊ एकाबिहानै शुभेक्षालाई उठाएर दुःख दिन चाहँदैन।
त्यो काम भरसक आफै गरूँ भन्ठान्छ, तर आफैले चिया बनाएर नदिएसम्म शुभेक्षाको मन मान्दैन। हिउँद–बर्खा एकनासले काममा लागिरहनु कम पट्यारलाग्दो कुरा होइन। तर अनुपमलाई त्यसको कामप्रति एक प्रकारको लगाव छ। त्यो बिना हिचकिचाहट, सधैं एकनासले तल्लिनतापूर्वक आफनो काममा लागिरहन्छ।बिहान गाउँको पब्लिक क्याम्पसमा तीनवटा क्लास लिइसकेपछि ऊ पहिलो ड्युटीबाट मुक्त हुन्छ। नौ बजे घर पुगेपछि ऊ एकछिन त्यत्तिकै आराम गर्छ। नितेश स्कुल जान थालेको यसपाली तीन वर्ष पुग्यो।
त्यो स्कुल ड्रेसमा ठाँटिएर घरबाट निस्किएको दृष्य अनुपम र शुभेक्षा दुवैजनालाई खुबै राम्रो लाग्छ। कहिलेकाहीँ
त्यसकी बहिनी सिर्जना पनि दाजुसँगै स्कुल जान्छु भनेर उसलाई पछ्याउन खोज्छे। भर्खरै तीन वर्षमा हिँड्दै गरेकी सिर्जनाका लागि आमाको काख छाडेर स्कुलको बाटो लाग्न उसका लागि अझै कुर्नुपर्छ। तर नितेशलाई भने त्यो झन्झट अब छैन। नर्सरी र के.जी. सजिलै पास गरेको उसका लागि स्ट्यान्डर्ड् वन् झनै राम्रो लागेको छ। अझ त्यो भन्दा पनि राम्रा उसका साथीभाइ छन् र त्यहाँको वातावरण छ। त्यसैले हुनसक्छ, स्कुल जाने भनेपछि ऊ सधैँ निकै रमाउँछ।
To Be Continued
credit: aawrites

No comments:
Post a Comment